कलेज अफ मेडिकल साइन्सेज, भरतपुर

चिकित्सकको भूमिमा विरामीको उपचार मात्र गर्ने नभई मेडिको लिगल कार्यहरु गर्ने र अदालतमा उपस्थित भई विशेषज्ञ राय दिने पनि हुन्छ । चिकित्सकले प्रदान गर्ने विशेषज्ञ रायहरु मध्ये शव परिक्षण, घाउ जांच, जबरजस्ती करणीको मुद्दामा महिला र पुरुषको जांच, उमेर निर्धारण, शारीरिक तथा मानसिक अशक्तता आदि पर्दछन् । चिकित्सकको मुख्य भूमिका विरामीको उपचार गर्ने भएतापनि उनीहरु मेडिको लिगल कार्यमा पनि निपूर्ण हुन जरुरी हुन्छ । यो उनीहरुको राष्ट्रप्रतिको उत्तरदायित्व हो ।

चिकित्सकले तयार पार्ने मेडिको लिगल रिर्पोट र विशेषज्ञ रायले न्याय सम्पादनमा निकै महत्व राख्दछन् । न्यायधिश र वकिलहरु चिकित्सा विज्ञानमा निपूर्ण नहुने भएकाले उनीहरु चिकित्सको रिर्पोट र रायमा निर्भर रहेर न्याय सम्पादन गर्नुपर्ने हुन्छ । त्यसकारण चिकित्सकहरु सम्वेदनशील भएर मेडिको लिगल कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । चिकित्सकको सानो गल्तीले सांचो अपराधी निर्दोष सावित हुने र निर्दोष व्यक्ति अपराधी कहलिने प्रशस्त सम्भावना हुन्छ ।

सामान्य चिकित्सक र फरेन्सिक विधा बाहेका अन्य विशेषज्ञहरु मेडिको लिगल कार्यमा निपूर्ण नभएतापनि सो कार्य गर्न वाध्य हुन्छन् । उनीहरु विरामीको उपचारमै बढी लगाव राख्ने सम्भावना हुन्छ । कतिपय अस्पतालहरुमा एक्लो चिकित्सक रहेको हुन्छ र उसैले नै सबै कार्यहरु सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैले मेडिको लिगल कार्यमा दक्ष नभएतापनि उनीहरु वाध्य हुन्छन् । उता, प्रहरी , वकील र न्यायधिश लगायतका न्याय सम्पादन गर्ने कर्मचारीहरुले चिकित्सकबाट ठुलो अपेक्षा राखेका हुन्छन् । उनीहरुले सो क्षेत्रमा सबै चिकित्सकहरुलाई बिशेषज्ञ नै ठानेका हुन्छन् । त्यसकारण चिकित्सकहरु मेडिको लिगल क्षेत्रमा दक्ष हुनु जरुरी छ । यसको लागि उनीहरुलाई प्रयाप्त तालिम दिइनुपर्छ र साथै चिकित्सकहरु स्वयं पनि आफ्नो उत्तरदायित्व महसुस गरी दक्षता राख्न जरुरी हुन्छ ।

नेपालको परिपेक्षमा खास गरी लाशघरहरु अति नै जिर्ण छन् । त्यहां काम गर्ने सहयोगी जनशक्ति तालिम प्राप्त छैनन् । लाशघरमा आवश्यक पर्ने न्यूनतम भौतिक पर्वाधारहरु छैनन् । मृतकका आफन्तहरुको लागि प्रयाप्त बस्ने ठाउं, शौचालय, पिउने पानी आदिको व्यवस्था छैन । लाश राख्ने कोल्ड च्याम्बरको व्यवस्था नहुने र यदाकदा भएपनि विग्रिरहने र समय समयमा बिजुली काटिने हुनाले लाशहरु छिट्टै सड्ने र दुर्गन्ध फैलिने गर्दछ । साथेै अस्पताल वरपर संक्रमण फैलिने सम्भावना हुन्छ । मृतकका आफन्तहरुले अन्तिम समयमा मतकलाई हेर्न चाहन्छन् तर लाशघरहरुको प्रतिकूल वातावरणले गर्दा उनीहरुलाई झन आघात हुने गर्दछ । त्यसैले नेपालका लाशघरहरुको भौतिक आवस्थामा निकै सुधार गर्नुपर्ने अपरिहार्य आवश्यकता छ ।

अहिलेको सन्दर्भमा नेपालमा प्रयाप्त फरेन्सिक चिकित्सकहरुको उपस्थिति रहेको छ । उनीहरु मेडिको लिगल क्षेत्रमा दक्षता हासिल गरेका हुन्छन् र सामान्य चिकित्सकहरु भन्दा गुणस्तरीय रिर्पोटहरु तयार गर्ने र न्याय सम्पादनमा ठुलो योगदान पुयाउन सक्दछन् । तर नेपालमा शव परीक्षण लगायत मेडिको लिगल कार्यहरु सरकारी अस्पतालमा गरिनु पर्ने व्यवस्था छ र सरकारी अस्पतालमा फरेन्सिक चिकित्सको नगन्य दरबन्दी छ । त्यसकारण प्राय फरेन्सिक चिकित्सकहरु शिक्षण अस्पतालमा मेडिकल शिक्षामा मात्र कार्यरत छन् । त्यसैले अहिले तत्कालैे क्षेत्रिय र अंचल अस्पतालहरुका फरेन्सिक चिकित्सकहरुको दरबन्दी स्थापना गरी उनीहरुलाई मेडिको लिगल कार्यहरु गराउने व्यवस्था हुन जरुरी छ । साथै शिक्षण अस्पतालहरुलाई पनि मेडिको लिगल कार्यहरु गर्न अनुमति प्रदान गरेर पनि तत्काल यो संकट टार्न सकिन्छ ।

अहिलेको सन्दर्भमा मात्रै हेर्ने हे भने घाउ जांच स्वास्थ्य परीक्षण जस्ता मेडिको लिगल कार्य प्राइभेट अस्पतालका चिकित्सकहरुले पनि गरीरहेका छन् र यी प्रतिवेदनहरुको प्रयोग प्रहरी र न्यायलयहरुमा पनि भइ नै रहको छ । त्यसकारण शव परीक्षण, उमेर निर्धारण, बलात्कारको पिडित र पिडकको परीक्षण पनि शिक्षण अस्पतालहरुमा गर्ने प्रवन्ध गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

निष्कर्ष

चिकित्सकले तयार पारेका मेडिको लिगल रिर्पोट र बिशेषज्ञ राय अदालतमा प्रमाणको रुपमा लिइन्छन् र न्याय सम्पादनमा विशेष महत्व राख्दछन् । त्यसैले चिकित्सकहरु यस विषयमा गम्भीर भएर प्रतिवेदन तयार पार्नु पर्दछ । साथै चिकित्सकहरुलाई मेडिको लिगल क्षेत्रमा तथा उनीहरुको प्रतिवेदनको उपयोगिता विषयमा निरन्तर तालिम प्रदान गरिनुपर्दछ । चिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुबाट गुणस्तरीय र तथ्यगत प्रतिवेदन प्राप्त हुने हुंदा राज्यले उनीहरुलाई सो कार्यको लागि हौसला प्रदान गरिनु पर्दछ । शवगृह, आवश्यक उपकरणहरु लगायतको गुणस्तरमा बृद्धि गरी चिकित्सकहरुबाट प्रदान हुने मेडिको लिगल सेवाको बृद्धि गर्न सके उचित न्याय सम्पादनमा चिकित्सकको तर्फबाट अदालतलाई अतुलनीय योगदान हुन सक्दछ ।


0 Comments

Leave a Reply