चिकित्सा शास्त्रमा रोग पत्ता लगाउन र रोगको निदान गर्न रगतको परिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको जगजाहेर नै छ। अपराध अनुसन्धानमा पनि रगतको अपरिहार्य भुमिका हुन्छ। कुनै पनि घटनास्थलमा प्राय: रगत भेटिन्छ। एक थोपा रगतको अन्वेशणले थुप्रै फौज्दारि अपराधका तथ्य उदाङ्गो भएका उदाहरणहरू प्रशस्त छन्। कुनै कुनै अपराधिहरूले बठ्याई गर्न खोजेर घटना लुकाउन रगत पुछपाछ गरेका घटना पनि नघट्ने होइनन्। कहिले काँहि रगत जस्तै देखिने दागहरूले अन्वेशणकर्तालाई झुक्याउन पनि सक्छन। पान, खिया, फलफुल (केरा, आँप) र तरकारिका दाग, मेहेन्दि, रूखको चोप पुरानो रगत को दाग जस्तो देखिनसक्छ। गाँढा लुगामा लागेको ग्रीज पनि रगत जस्तो देखिन सक्छ।

घटनास्थलमा अनावश्यक मान्छे पस्न दिनु हुन्न। कुनै कुरा छुनु पुर्व यथास्थिति फोटो खिच्नु पर्छ। घटनास्थलमा रातो दाग देखिए अन्वेषणकर्ताले सफा पन्जा लगाएर यदि आलो छ भने फिल्टर पेपर, गज पिस वा कपासमा सोस्ने र त्यो स्याम्पल लाई लेबल गरेर सुरक्षित राख्ने। कुनै कपडामा रगत जस्तो देखिने दाग लागेको छ भने त्यो कपडा पुरै वा काटेर लेबल गरि सुरक्षित राख्ने। यदि फलाममा रगत जस्तो देखिने दाग लागेको छ भने त्यसलाई धारिलो वस्तुले कोट्याएर सिसाको कन्टेनरमा लेबल गरि सुरक्षित राख्नु पर्दछ। यसरि जम्मा गरिएको स्याम्पल फरेन्सिक ल्याबमा पठाउनु पर्दछ।

Ultra violet लाईट (टर्च) बाल्यो भने आँखाले नदेखिएका रगतका दाग प्रष्ट देखिन्छन्। त्यस्तै लुमिनोल स्प्रेले पनि घटनास्थलमा अपराधिले मेटाउन खोजेको रगतको पर्दाफास गरिदिन्छ।

फलाम वा स्टीलमा लागेको खिया हाईड्रोक्लोरिक एसिडमा घुल्छ। स्टीलको चक्कुको दाग रगत हो कि होईन भनेर पत्ता लगाउन चक्कुलाई उल्टाएर दाग नभएको सतहमा ततायो भने रगतको टाटो पत्र पत्रमा उप्किन्छ खिया उप्किन्न। खियाले रगत जस्तो कपडालाई कडक पनि दिन्न।

वन्स्पतिको दाग हो कि रगत भनेर छुट्याउन फेरिक क्लोराईड को थोपाको प्रयोग गरिन्छ। वन्स्पतिमा पाईने ट्यानिन नामक तत्व फेरिक क्लोराईडको संपर्कमा आएपछि कालो हुन्छ तर रगत हुँदैन। रगत जस्तो देखिने डाई नाईट्रक एसिडमा पहेंलो हुन्छ।

बेन्जिडिन टेष्टले कुनै तत्व रगत हो कि हैन पत्ता लगाउँछ। प्रेसिपिटिन टेष्टले जनावर र मान्छेको रगत छुट्याईदिन्छ। मान्छेको रगत ग्रुपिङ गरिन्छ। घटनास्थलमा पाईएको रगत ग्रुपिङ पश्चात कसको होईन भनेर छुट्याउन मद्दत गर्छ। (द्रष्व्य: कसको हो भनेर छुट्याउने आधिकारिक टेष्ट ग्रुपिङ होईन। जस्तो बच्चाको रगत ए पोजेटिभ र आमाको ओ पोजेटिभ छ भने बाउ बि पोजेटिभ वा ओ पोजेटिभ कदापि हुन सक्दैन। बाउ ए पोजेटिभ वा एबि पोजेटिभ हुनुपर्छ तर आधिकारिक पुष्टि डिएनए टेष्टले गर्छ।)

हेमिन क्रिष्टल टेष्ट वा टाकायामा टेष्ट मार्फत शुक्ष्मदर्शक यन्त्रमा परिक्षण गरिएको रातो तत्व रगत हो र मान्छेको नै हो भनेर पुष्टि हुन्छ। अत्याधुनिक स्पेक्ट्रोस्कोपिक पद्दतिले सियो को टुप्पो जति सानो रगतको कण पुरानो वा आलो हो, कति पुरानो हो र त्यो रगतको कणमा रगत बाहेक अरू तत्व जस्तै मदिरा वा विष भए नभएको पनि पत्ता लगाउँछ।

रगतलाई शुक्ष्मदर्शक यन्त्रमा हेर्दा श्वेत-रक्तकोषमा डेभिड्सन बडि (Davidson’s body) देखियो भने त्यो रगत महिलाको हो भनेर किटानका साथ भन्न सकिन्छ। यतिमात्र होईन रगत शरिरको कुन भागबाट आएको हो भन्ने पनि पत्ता लगाउन सकिन्छ। महिनावारिको रगत प्राय: महिलाको भित्री वस्त्र या कपडाको टुक्रामा लागेको पाईन्छ। यसको खरो गन्ध हुन्छ। यसलाई शुक्ष्मदर्शक यन्त्रमा हेर्यो भने पाठेघर र योनीका तन्तु पनि भेटिन्छन्। नाकबाट आएको रगत शुक्ष्मदर्शक यन्त्रमा हेर्यो भने म्यूकस (सिँगान) सँग मश्रित देखिन्छ। उल्टि सँग निस्केको रगतलाई पेटको अम्लले गाढा खैरो रङ्गको बनाईदिन्छ र रगतमा खानेकुराका कण भेटिन्छन्। दिसासँग आउने रगत प्राय: कालो हुन्छ र शुक्ष्मदर्शक यन्त्रबाट हेर्दा पचेका खानेकुरा देखिन्छन्। उडुस, लामखुट्टे, जुम्रा आदि मार्दा पनि हातमा रगत टाँसिन्छ। तर यो रगत शुक्ष्मदर्शक यन्त्रमा हेर्‍यो भने रगतमा ती परजीविका अँग पनि देखिन्छन्।

शिराको रगत धमनिको भन्दा चहकिलो हुन्छ। शिरामा रक्तचाप बढिहुने भएकोले यसबाट निस्केको रगत स्प्रे जस्तो टाढा उछिटिन्छ। धमनिबाट निस्केको रगत शिथिल हुन्छ र थोपा थोपामा खस्छ। रगतको थोपा ध्यान दिएर हेर्यो भने रगत कुन दिशाबाट खसेको पत्ता लाग्छ। केहि सेन्टिमिटर माथि बाट सिधा खसेको रगतको थोपा गोलो हुन्छ। एक फिट वा त्यो भन्दा माथिबाट खसेको थोपा पूर्णरूपमा गोलो नभएर बाहिर पट्टि ससाना खोँच जस्तो देखिन्छन्। जति उँचाई बढ्यो त्यति नै रगतको थोपाबाट ती खोँच आक्रिति छुट्टिन्छन र सूर्यको किरण जस्तो देखिन्छ। छड्के झरेको रगतको थोपा विश्मयादिबोधक चिन्ह (!) जस्तो देखिन्छ। चुच्चो र साँघुरो किनाराले कुन दिशाबाट रगत झरेको हो त्यो बुझाउँछ।

घटनास्थलमा रगत जमेको छ भने त्यसमा पाईतालाका वा जुत्ताका डाम हेरेर कति जना त्यहाँ उभीएका थिए भन्न सकिन्छ। ती डामलाई राम्ररि हेर्‍यो भने घटनास्थलमा संदिग्ध व्यति कुन दिशाबाट प्रवेष गर्‍यो र निस्कियो पनि किटेरै भन्न सकिन्छ। हतियारमा लागेको रगत, झ्याल-ढोकाका चुकुलमा लागेका रगत बाट औंठाछाप निकालेर दोषि पत्ता लगाउन सकिन्छ। यदि कर्तव्यज्यानको घटनामा मृतकलाई भुईमा घिसारेको भए कुन दिशाबाट कता कति घिसारेको भन्न सकिन्छ। रगत लागेको लुगा धोएपछि पनि रगतका कण लुगाबाट पुरै निख्रिदैंन माथि उल्लेखित रसायनले परिक्षण गर्‍यो भने त्यो पनि पत्ता लाग्छ।

कतिपय अवस्थामा रगतले मृत्युको कारण पनि पत्ता लगाईदिन्छ। मदिरा वा अन्यकुनै विष मृत्युको कारण भए नभएको रगत को परिक्षणले थाहा पाउन सकिन्छ। रक्तश्रावले मरेको मानिसको शरिरको छाला फिक्का रङ् उडेको जस्तो देखिन्छ।

अपराध चाहे जुनसुकै होस् घटनास्थलको राम्ररी अध्ययन र जाँच गर्ने हो भने शायदै कुनै अपराधी फुत्किन पाउला! घटनास्थलमा भेटिएको रगतको थोपा चाहे त्यो जतिनै सानो किन नहोस् त्यसले घटनाको सत्यतथ्य उदाङ्गो पारेर अपराधि नजिक पुर्‍याईदिन्छ।


0 Comments

Leave a Reply

%d bloggers like this: